सीके राउतबारे बाहिर बोल्दै नहिड्न भीम रावललाई प्रचण्डको सुझाव !

काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिके राउतबारे अहिले नै हतारोमा अनेकन अभिव्यक्ति दिनु कुनै जरुरी नभएको बताएका छन् ।

मंगलबार विराटनगरमा प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र सरकार बीच भएको सहमतिबारे अहिलेनै टिप्पणी गर्ने समय नभएको स्पष्ट पारेका हुन् ।

“सिके राउतले पहिला लिएका नीतिहरुबारेमा थाहा भएकै हो । उनीबारे कुनै हतार गर्नु जरुरी छैन । प्रचण्डले भने, “संविधानको पक्षमा पहल बढाउन सरकारले समझदारी गरेको हो । सरकारले गरेको समझदारीमा मेरो पूर्ण सहमति छ ।”

सहमति प्रति लगातार बोल्दै र विरोध गर्दै आएका नेकपालै नेता भीम रावल लगायतलाई प्रचण्डले तत्कालै बाहिर नबोल्न सुझाव दिएका छन् । सरकारले गलत मनासयले सहमति नगरेको जिकिर गर्दै प्रचण्डले पार्टीका नेताहरुले सहमति बारे बाहिर नबोल्दा राम्रो हुने बताए ।

यस्तै पत्रकारहरुसँग बोल्ने क्रममा प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेको बताए ।