लिंकन नामक बाख्रो बन्यो अमेरिकी सहरको मेयर !

वासिंगटन, २८ फागुन । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो कि अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ ।

मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइ चुनाव गरिएको थियो । उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो । अन्ततः तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो ।

लिकंन १३ भोट ल्याएर मेयर बनेको हो । उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्यो । अरू उम्मेदवारहरूले जम्मा ३० भोट मात्र प्राप्त गरे ।

लिंकनको कार्यकाल १ वर्षको हुनेछ । लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो । लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ । अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ ।

फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ । यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन् ।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो । सोहीअनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन् ।