वातावरणीय प्रभाव मूल्याङ्कनविनै सडक निर्माण

बाजुरा, २७ फागुन । जिल्लामा ग्रामीण सडक प्राविधिक योजनाविनै निर्माण हँुदै आएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सडक निर्माण गर्नुपर्ने भए पनि यसतर्फ चासो दिइएको छैन ।

कुनै पनि योजना नबनाएर सडक निर्माण भइरहेका नागरिक समाजका अगुवा जनेश भण्डारीले बताउनुभयो । प्राविधिकले आफूखशी डोजर प्रयोग गरिरहेको उहाँको भनाइ थियो । जिल्लाका नौ स्थानीय तहमा निर्माण हुन लागेका सडक योजनाबिना निर्माण भइरहेका छन् ।

बूढीनन्दा नगरपालिका वडा नं ३ र ४ मा पर्ने बछौनदेखि घोडाकोटसम्मको सडक पनि योजनाबिनै निर्माण हुन लागेको बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले बताउनुभयो । वातारवरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र ठेक्का गर्नुपर्ने भए पनि अध्ययनबिना नै काम शुरु गर्न लागिएको उहाँको भनाइ थियो । आफूहरुले भन्दा पनि नगरपालिकाले नसुनेको आरोप उहाँको छ ।

उक्त नगरपालिका–४ का वडाध्यक्ष राजन रोकायाले बछौनदेखि घोडाकोटसम्म डेढदेखि दुई लाखसम्म बिरुवा फडानी हुने बताउनुभयो । सडकखण्डको करीब आठ किलोमिटर भागमा पूरै जङ्गल मात्र पर्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीय, सामुदायिक उपभोक्ता समिति, समूह र आफूहरुको सहमतिबेगर नै सडक निर्माण हुनलागेको रोकायाको भनाइ थियो । कनकासुन्दरी सामुदायिक वन उपभोक्ता समितिले वन फडानी हुन लागेकामा तत्काल सडक निर्माण रोक्काका लागि कोल्टी इलाका वन कार्यलयमा निवेदनसमेत दिएको समितिका सचिव जङ्ग बोहाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, जङ्गलका सानासाना बिरुवा फडानी हुने भएकाले तत्काल सडक खन्न रोक्न निवेदनमा माग गरिएको छ ।

उक्त नगरपालिकाका निमित्त कार्यकारी लक्ष्मीराज देवकोटाले भने प्रारम्भिक वातावरण मूल्याङ्कन भइरहेको बताउनुभयो । योजना सम्झौता भइसकेको छ, प्रतिवेदन नआउँदासम्म काम रोक्ने बताउनुभयो । यो आर्थिक वर्षमा बाटोका लागि रु ८० लाख विनियोजन भएको छ । रासस