बामदेव गौतम र बिष्णु पौडेलले एमालेमा प्रवेश गराएका यी गाउँपालिका अध्यक्षले श्रीमतीसहित नेकपा परित्याग गरे !

रुपन्देही, २६ फागुन । रुपन्देही सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले नेकपा परित्याग गरेका छन् ।

बब्लुले आफ्नी श्रीमती पल्लबी शुक्लासहित पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पल्लबी गत निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेकी थिइन् ।

स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट गाउँपालिका अध्यक्ष निर्वाचत उनलाई तत्कालिन नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम र उपमहासचिब बिष्णु पौडेलले एमालेमा प्रवेश गराएका थिए ।

शुक्लाले केही समय अघि प्रदेश सरकारले शुरु गरेको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रममा गाउँपालिकाको लागि कार्यक्रम सहजकर्ता गलत आचरण भएको व्यक्ति चयन गरेकोले असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

शुक्लाका अनुसार मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमको सहजकर्ताको बिषयमा आफूले नेकपा महासचिब बिष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री लिला गिरी र आरती पौडेलसँग छलफल गरेता पनि उनीहरुले आफ्नो कुरा नसुनेपछि पार्टी त्याग्ने निर्णयमा पुगेका हुन् ।

यसैगरी, शुक्लाले आफूलाई पार्टी प्रवेश गराएपनि मर्चवार क्षेत्रमा नेकपाको कमिटी गठन गर्ने बेला कुनै सल्लाह नै नलिएको बताएका थिए । मर्चवार क्षेत्रमा नेकपाको जनमत थोरै भएको तर, आफू पार्टीमा प्रवेश गरेपछि स्थिती राम्रो भएको बताउँदै शुक्लाले आफू कसैको दमन सहेर पार्टीमा बस्न नचाहेको जानकारी दिए ।