दुई वडाबीच भगिनी सम्बन्ध

– कृष्ण न्यौपाने

दमौली, २७ फागुन । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–४ र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बीच भगिनी सम्बन्ध कायम भएको छ ।

आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई वडाबीच भगिनी सम्बन्ध कायम भएको हो । भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा आज घरपझोङ गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद थकाली र शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले हस्ताक्षर गर्नुभयो । दुई वडाबीच नियमित सम्पर्क राखी अवलोकन तथा अन्तक्र्रिया कार्यक्रम गर्ने, एकअर्काको भौतिक तथा संस्थागत विकासका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष थकालीले पहिलोपटक दुई वडाबीच भगिनी सम्बन्ध कायम गर्न पाएकामा खुशी व्यक्त गर्दै सम्झौतापत्रमा उल्लेख भएका बुँदा कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले दुवै स्थानीय तह भौगोलिक तथा प्राकृतिकरुपमा अनुपम रहेको चर्चा गर्नुभयो ।

गत असोजको अन्तिम साता शुक्लागण्डकी नगरपालिका–८ र १० ले आयोजना गरेको टोल विकास संस्थाका प्रतिनिधिसहितको मुस्ताङ अवलोकन भ्रमणका अवसरमा वडाले भगिनी सम्बन्धको प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावलाई कार्यपालिकाको बैठकले भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको थियो । घरपझोङको टोलीले यस क्षेत्रकै प्रसिद्ध ढोरबाराही मन्दिर, मुक्तिनाथ च्यवनधामको अवलोकन गरेको थियो । साविकको मार्फा, टुकुचेको दुई वटा वडा र जोमसोम गाविसलाई समेटर सो गाउँपालिका निर्माण गरिएको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिर सोही गाउँपालिकामा अवस्थित छ ।

विद्यार्थी आकर्षित गर्न बस

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित पवित्रा उच्च माध्यमिक विद्यालयले विद्यार्थी आकर्षण गर्ने उद्देश्यले बस सेवा शुरु गरेको छ । निजी विद्यालयले बस सेवा सञ्चालन गरेर सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि विद्यालयले विद्यार्थी टिकाउन र विद्यालयमा आकर्षण बढाउन बस सेवा शुरु गरेको हो ।

बस खरीद गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । रु २८ लाखको लागतमा खरीद गरिएको बसका लागि गाउँपालिकाले ६० र विद्यालयले ४० प्रतिशत खर्च व्यहोरेको विद्यालयका अध्यक्ष हेमराज लामिछा ९क्षितिज०ले जानकारी जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयले मात्रै बस सञ्चालन गर्न सक्छन् भन्ने भ्रम चिर्न पनि बस सेवा शुरु गरेका हौँ ।”

विद्यालयमा व्यास नगरपालिका–१२ छिर्कने, आँबुखैरेनीको सत्रसयबाट विद्यार्थी आउछन् । अभिभावकसँगको सल्लाह र सुझावका आधारमा बस शुल्क निर्धारण गरिने भन्दै उहाँले तेल, चालक र मर्मत खर्चका लागि मात्रै केही रकम लिइने जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सडक सुविधा पुगेका सबै सामुदायिक माध्यमिक विद्यालयमा बस उपलब्ध गराउने गाउँपालिकाको नीतिअनुसार पहिलोपटक पवित्रा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिएको जानकारी दिनुभयो । अन्य विद्यालयको मागअनुसार क्रमशः बस उपलब्ध गराइने उहाँले बताउनुभयो । बस सञ्चालन भएपछि राजमार्ग क्षेत्रका विद्यार्थीलाई आउन जान सुविधा हुने प्रधानाध्यापक रघु पण्डितले बताउनुभयो । रासस