छोरा दिपेश पुनको उपद्रोले उपराष्ट्रपति पुन आलोचित बन्दै !

काठमाडौं, २७ फागनु । उपराष्ट्रपति नन्दबहादुर पुन छोरा दिपेश पुनका कारण चरम विवादमा आएका छन् ।

महाभारतमा हस्तिनापुरका राजा धृतराष्ट्रको पुत्र मोहका कारण छोरा दुर्योधनसहित कौरव बंशकै नाश भएको इतिहास छ ।

धृतराष्ट्रकै शैलीमा उपराष्ट्रपति पुनले छोरा दिपेशलाई छुट दिँदा पार्टी र आन्दोलनकै बदनाम भएको कुरा यतिबेला पूर्वमाओवादीभित्रै बहसको विषय बनेको छ ।

ललितपुरको टीकाभैरव, लेलेमा वन जंगल र खोला दोहन गरी ढुंगा र बालुवाका क्रसर सञ्चालन गर्दै आएको भनी विवादित दिपेश पुन मलेसियाको भेढडर हत्याउन लागेका थिए ।

मलेसिया जाने नेपाली कामदारको भिसा, पासपोर्टको काम गर्ने भीएलएनदेखि स्वास्थ्य परीक्षण गर्ने बायोमेट्रिक भेण्डरको परिवर्तनको खेलमा लागेको भनी चर्चामा आएका उनी त्यसमा सफल नहुने देखिएपछि अहिले उनी अलग भइसकेका छन् ।

मलेसिया भेण्डरको चक्करपछि दिपेश राजनारायन पाठकको घुस लिएको भिडियो प्रकरणमा मुछिएका छन् । पाठकको भिडियो खिच्ने ध्वज मोक्तानसँग उक्त भिडियो फुत्काउन दिपेशले कैलाश मगरलाई खटाएको अर्को भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा कैलाश मगरले पटक–पटक दिपेश र बुढाको नाम लिएका छन् । बुढा भनेको उपराष्ट्रपति नन्दबहादुर पुन र दिपेश भनेर उनले पटक–पटक नाम लिएका छन् भनेर ‘साँघु’ साप्ताहिकले समाचार छापेको छ ।