इथियोपिया विमान दुर्घटनामा नेपाली चेली एकता अधिकारीको मृत्यु भएको पुष्टि !

इथियोपिया, २७ फागुन । इथियोपिया विमान दुर्घटनामा विमान चालकदलका ८ सदस्यसहित १५७ यात्रुमध्ये एक जना नेपाली नागरिक पनि रहेको खुलेको छ ।

उक्त विमान दुर्घटनामा परी नेपाली नागरिक एकता अधिकारीको पनि मृत्यु भएको पुष्टी भएको हो ।

नेपालको गोरखा स्थायी घर भएकी अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।

आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै गर्दा उनको विमान दुर्घटनामा परी ज्यान गएको हो । अधिकारी एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् ।

डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् । पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।

गोरखाकी उनले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् । नेपालकी अधिकारी सहित ३६ देशका १५७ जनाको दुर्घटनामा ज्यान गएको हो ।