औद्योगिक प्रदर्शनीमा उपभोक्ताको आकर्षण

काठमाडौँ, १७ पुस | गत शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको आकर्षण बढेको पाइएको छ ।

यही पुस १९ गतेसम्म चल्ने प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न सेलिब्रेटी तथा सर्वसाधारण गरी करीब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न नेपाल कम्युनिष्ट पार्टीका नेता पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओलीलगायत आज त्यहाँ पुग्नुभएको थियो ।

प्रदर्शनी अवलोकनका क्रममा नेत्री भुसालले सञ्चारकर्मीसँगको कुराकानीमा स्वदेशी उद्योगको संरक्षण गरी राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेमा आयात प्रतिस्थापन भई व्यापार घाटा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा विभिन्न ब्राण्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुटसमेत दिइएको संयोजक नवराज गौतमले जानकारी दिनुभयो ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको उत्पादन राखिएका छन् । विदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले सञ्चालित औद्योगिक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको बजार प्रवद्र्धनका लागि १९१ वटा कक्ष छन् । रासस