डा. केसी १६औं अनसन बस्न इलाम पुगे

काठमाडौं, १७ पुस । डा. गोविन्द केसी १६ औं अनसन बस्न पूर्वी नेपालको इलाम पुगेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग पुरा गर्नका लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेटम दिएका केसीले सरकारले माग पुरा गर्ने छाँट नदेखाएपछि १६औं अनसन बस्न उनि इलाम पुगेका हुन् ।

उनका सहयोगी अभिषेक राज सिंहले डा. केसीको अनसनबारे जानकारी दिँदै ट्वीट गरेका छन्, ‘१६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभयको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा केसी सत्याग्रहको तयारीका लागि पूर्वी नेपालको इलाम पुगिसक्नुभएको छ र यसपालिको लडाइँ इलामबाट लडने हुनुभएको छ । आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ ।’ डा. केसीले बुधबारदेखि अनसन शुरु गर्ने तयारी गरेको बताइएको छ ।

डा. केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न, सम्झौता बमोजिम अक्षरस चिकित्सा विधेयक संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न उनले माग गरेका छन् । यस्तै सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न माग गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।

दोस्रो मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।