घर बिदामा आएका एक भारतीय सैनिक कश्मिरबाट अपहरित !

काठमाडौं, २५ फागुन । भारत प्रशासित क्षेत्र जम्मु कश्मिरमा अझै तनाव कम हुन सकेन । शुक्रबार काश्मिरबाट भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् ।

जम्मु कश्मिरको बडगाम जिल्लामा घर विदामा आएका जवान मोहम्मद यासिन भट्टको चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

भट्ट एक महिनाको छुट्टि लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए ।हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ । भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ ।

यसअघि पनि भारतीय सेनाका एक जना जवान औरंगजेब घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।

कश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व छ । पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति र्पुयाइरहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।