स्टक एक्सचेञ्जको आग्रह : लगानीकर्ताले डिम्याट खातामा मात्रै कारोबार गरौँ

काठमाडौँ , १७ पुस । नेपाल स्टक एक्सचेञ्जले सम्पूर्ण लगानीकर्तालाई एक हितग्राही खाता (डिम्याट) मा मात्रै काराेबार गर्न आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार स्टकले लगानीकर्तालाई यस्तो आग्रह गरेको हो ।

साथै लगानीकर्ताले बढीमा दुई वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह समेत गरेको छ ।

कारोबारको द्रुतगति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ । स्टकले आजदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । तोकिएको राफसाफ बैंकमार्फत कारोबार अघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास भएको स्टकको भनाइ छ ।

तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोबार प्रयोजनका लागि मात्रै बैंक खाता खोल्न आग्रह गरिएको छ । आगामी दिनमा ‘क’ वर्गका सबै बैंकलाई धितोपत्र कारोबारको राफसाफ हुने गरी व्यवस्था गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।

स्टकले अनलाइन कारोबर पहुँचका लागि लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीसँग अनिवार्यरुपमा सम्झौता गर्नैपर्ने, त्यस्तो सम्झौताले लगानीकर्ता र व्यवसायीबीच वित्तीय सुरक्षा सुनिश्चितता गराउने बताइएको छ ।

लगानीकर्ताले कारोबारका लागि युजरनेम र पासवर्ड लिनसमेत पुनःआग्रह गरिएको छ । लगानीकर्ताले आफ्नो लगानी सीमाअनुसार रकम जम्मा गरेपछि कारोबार गर्न पाउने व्यवस्था गरिएको स्टकका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।