फोहर फाल्न रोक

बनेपा, २५ फागुन २५। बसपार्कमा वरिपरिका स्थानीय बासिन्दा र नगरपालिकाले नै फोहर जम्मा पार्दै आएपछि स्थानीयवासी तथा व्यवसायीले कसैलाई पनि फोहर फाल्न नदिने भन्दै रोक लगाएका छन् ।

पहिलेदेखि फाल्दै आएको काभ्रेपलाञ्चोकको श्रीखण्डपुरको सूचना प्रविधि केन्द्र अगाडि धेरै नै दुर्गन्धित भएपछि केही महीनादेखि त्यहाँका बासिन्दाले फोहर फाल्न नदिएपछि नगरपालिकाले बसपार्कमा फोहर जम्मा पारेर अन्यत्र फाल्ने व्यवस्था गर्दै आएको छ ।

नगरभित्रका बजारबाट ल्याएको सबै फोहर एकै ठाउँमा थुपार्ने र त्यहाँबाट अन्यत्र फाल्नको लागि लाने गरेका कारण दुर्गन्धले बसी नसक्नु भएको भन्दै नगरपालिका र अन्य स्थानीयवासीलाई समेत फोहर फाल्न नदिन बसपार्क आसपासका व्यवसायी र स्थानीयवासीले गस्ती समेत गर्न थालेका छन् ।

फोहरमा मरेको जनावरको सिनो समेत फाल्ने गरेका कारण सो क्षेत्रमा थप दुर्गन्ध फैलिएपछि अब कसैलाई पनि फोहर फाल्न नदिने भन्दै विरोधमा उत्रिएको बसपार्कका विकास मानन्धरले बताउनुभयो । ‘‘नगरपालिकाले फोहर समस्याको समाधान चाँडोभन्दा चाँडो गर्नुप¥यो’’ उहाँले भन्नुभयो, “स्थानीय बासिन्दाको बीचमा फोहरको डङ्गुर थुपार्ने काम कसैको लागि पनि राम्रो होइन, यसलाई छिट्टै उठाएर स्वच्छ वातावरण बनाउने काम नगरपालिकाले गर्नुपर्छ ।”

उहाँले बजारबाट सङ्कलन गरेका फोहरलाई सो ठाउँमा नराख्न अनुरोध गर्दै स्वच्छ भएर बाँच्ने अधिकारलाई सुनिश्चित गर्न नगरपालिकासँग आग्रह गर्नुभयो । अर्का स्थानीय बासिन्दा राजेन्द्र तिमल्सिनाले फोहरका कारण वरिपरिका व्यवसायीको व्यवसायमा नकारात्मक प्रभाव परेपछि त्यसको व्यवस्थापन छिटो गर्न नगरपालिकासँग आग्रह गर्नुभयो ।

बसपार्कका व्यवसायी अशोक सिंहले फोहरका कारण व्यवसायीदेखि नजिकै रहेको विद्यालयमा समेत असर गरिरहेको बताउनुभयो । फोहरकै कारण विद्यार्थीले कक्षा कोठामा माक्स लगाएर पढ्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । सूचना प्रविधि केन्द्र अगाडिको ठाउँमा फोहर फाल्न रोक लगाएपछि बनेपा नगरपालिकाले फोहर व्यवस्थापन गर्न उचित स्थानको खोजी भइरहेको जनाएको छ ।