जसले गुठी सञ्चालनमा छोरीको हक दिलाए

काठमाडौँ, १७ पुस | प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा २९औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

संसदीय सुनुवाइ समितिबाट आजै सर्वसम्मत नाम अनुमोदन भएका राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उमेर हदका कारण आजदेखि कार्यकाल सकिँदैछ ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उहाँको जन्म भएको थियो । हाल उहाँ सुकेधारा काठमाडौँमा बस्दै आउनुभएको छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।

उहाँले तत्कालीन काठमाडाँै नगरपञ्चायत र काठमाडौँ नगरपालिकाको कानूनी सल्लाहकारका रुपमा विसं २०३९ देखि विसं २०४९ सम्म काम गर्नुभयो । न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाशीका रुपमा काम शुरु गर्नुभएका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर हेटौँडा, विराटनगर, सुर्खेतलगायतका जिल्लामा काम गर्नुभएको थियो ।

विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गर्नुभयो । त्यसक्रममा पुनरावेदन अदालत दिपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाउनुभएको थियो ।

विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त हुनुभएका राणाले न्याय क्षेत्रका गोष्ठीमा भाग लिने क्रममा दक्षिण कोरिया, श्रीलङ्का, जापानको भ्रमण गर्नुभएको छ ।

उहाँको कार्यकालमा तत्कालीन पुनरावेदन र विशेष अदालतमा रहँदा चार हजार ५०० सर्वोच्च अदालतमा रहँदा छ हजार ४३८ थान मुद्दा गरी करीब ११ हजार मुद्दा फछ्र्यौट भएको छ । उहाँको कार्यकालमा सौतेनी आमा अंशमा अधिकार र गुठी सञ्चालनमा छोरीको हक, वैदेशिक रोजगारीमा हुने ठगीमा पीडकलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने, पर्वतारोहणका समयको प्रामाणिकता, सरकारी जग्गाको संरक्षणको फैसला भएका छन् । रासस