सांसद चन्दा चौधरी भन्छिन् – ‘संसदमै महिला हिंसा छ !’

काठमाडौं, २४ फागुन । राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले समाजमा मात्रै नभै राज्यको हरेक तह तप्कामा महिला हिंसा हुने गरेको बताएकी छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद चौधरीले समाजमा मात्र नभएर संसदमा पनि महिला हिंसा हुने गरेको बताएकी हुन् ।

त्यति मात्रै नभई बजेट वितरणमासमेत महिला सांसदलाई विभेद गरिएको आरोप लगाउँदै उनले चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको गुनासो गरिन् ।

पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको उनको तर्क थियो ।

आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरूष र उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।

चौधरीले निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर, सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो?,’ उनले भनिन् ।

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । ‘हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिदैन? पुरूष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ,’ उनले गुनासो गरिन् ।