स्वास्थ्यबीमाका लागि बिमितको नाम दर्ता

लहान, २४ फागुन (रासस) ः स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ ।

यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा एक÷एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्यबीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिनुभयो ।

सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताउनुभयो ।

पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक रु ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु १० हजार थपिने जनाएको छ ।

विपन्न परिवारलाई विद्युत् मिटर

नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई विद्युत् मिटर निःशुल्क वितरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सिरहाको मिर्चैया नगरपालिका–२ मा २५ अतिबिपन्न गरीब घरपरिवारलाई विद्युत् मिटर निःशुल्क वितरण गरेको नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले जानकारी दिनुभयो ।

विद्युत् चुहावट नियन्त्रणका लागि सरकारले अतिविपन्न तथा सांस्कृतिक सम्पदालाई निःशुल्क मिटर वितरण योजना अघि सारेकोे प्रमुख यादवको भनाइ छ । गरीब परिवारले अहिले पनि मिटर जडान नगरी हुकिङबाटै बिजुली बाल्दा विद्युत् चुहावट भइरहेको अवस्थालाई मध्यनजर गरी आवश्यक भएको घरपरिवारलाई अध्ययन गरेर विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्ने लक्ष्य रहेको प्रमुख यादवले बताउनुभयो ।

यस्तै सिरहाको मिर्चैया नगरपालिका–२ मा विद्युत् प्राधिकरणको फ्यूज सेवा स्थापना गरिएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले फ्यूज सेवा केन्द्रको उद्घाटन गर्नुभयो । फ्यूज सेवामार्फत तत्कालै विद्युत्को समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख यादवले बताउनुभयो ।