फेरि राष्ट्रिय टिममा परे लियोनल मेस्सी

एजेन्सी, २४ फागुन । सन् २०१८ मा रसियामा भएको विश्वकपपछि अर्जेन्टिनाको राष्ट्रिय टिममा नपरेका लियोनल मेसी भेनेजुएला र मोरोक्कोसँगको मैत्रीपूर्ण खेलको लागि भने छनौटमा परेका छन् ।

विश्वकपपछि अर्जेन्टिनाले विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेलेपनि लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका थिएनन् ।

रसिया विश्वकपमा अर्जेन्टिनाको कप्तानी मेसीले नै गरेका थिए । तर अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

२०१४ को विश्वकप र त्यसपछि कोपा अमेरिकाकाको फाइनल पुगेर पनि उपाधि जित्न बन्चित भएपछि मेसीले २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नै घोषणा गरे । पछि मेस्सीले सन्यास फिर्ता लिए र २०१८ को विश्वकप खेले ।

विश्वकपमा पनि अन्तिम १६ बाटै यात्रा समाप्त भएपछि मेस्सीले अब अर्जेन्टिनाका लागि खेल्छन् कि खेल्दैनन् भन्ने सबैको चासो समेत रहेको थियो ।

तर प्रशिक्षक लियोनल स्कोलानीले अर्जेन्टिनाको आगामी मैत्रीपूर्ण खेलको लागि घोषणा गरेको टोलीमा मेस्सीको नाम पनि अटाएको छ । जसले गर्दा अब मेस्सीले अर्जेन्टिनाको लागि फेरि खेलेको देख्न पाउने सम्भावना छ ।

स्कोलानीले लियोनल मेस्सीलाई पनि टिममा बोलाइएको र उनले एक वा दुई खेल खेल्नेछन् भन्ने हेर्न बाँकी रहेको बताए ।