यसरी बनिन् डा. दुर्गा थापा पुन नेपाल प्रहरीकी प्रथम महिला एआईजी
काठमाडौं, २३ फागुन । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा. दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) बनेकी छिन् ।
नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे इतिहासमा महिला एआइजी भएको यो नै पहिलो हो । यसअघि पार्वती थापा र विमला थापा डीआइजी पदसम्म पुगेका थिए ।
दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा थापा पुन ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम हुन् । कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाईस्कुलमा पढेकी उनी काठमाडौंको कन्या मध्यामिक हाईस्कुलबाट एसएलसी परीक्षामा सहभागी भइन् ।
अस्कल साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि उनले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी ( विडिएस) पढ्ने मौका पाइन् । त्यसपछि दक्षिण भारतको चेन्नईबाट एमडीएस गरिन् ।
उनका बुवा ब्रिटिस गोर्खा पल्टनमा ब्याण्ड मास्टर थिए । उनी रिटायर्ड भएर नेपाल आएपछि तत्कालीन महानिरीक्षक (आईजीपी) खड्गजीत बरालले नेपाल प्रहरीमा पनि ब्याण्ड स्थापना गर्न भर्ती गरेको एआइजी पुन बताउँछिन् ।
‘बीडीएस सकेर पाकिस्तानबाट फर्कँदा बाबा एसएसपी हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘उहाँले नै मलाई पनि नेपाल प्रहरीमा सेवा प्रवेश गर्न प्रेरित गर्नुभयो ।’
त्यसरी उनी ०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्पेक्टरको रुपमा प्रवेश गरिन् । त्यसबेलासम्म त्यहाँ असिस्टेन्ट हेल्थ वर्कर (अहेव) हरुले नै दाँतको उपचार गर्थे । दुर्गा थापा पुन आएपछि दाँतको ‘डाक्टरी उपचार’ सुरु भयो ।
‘म आएपछि प्रहरी अस्पतालमा दन्त विभाग स्थापना भयो’, उनी भन्छिन्, ‘एआईजीमा बढुवा हुँदा म त्यहाँ विभागमा प्रमुख थिएँ ।’