मंगलबार राति गाउँपालिकाको गाडी जलाइयो, बिहिबार बिहान कार्यालय परिसरमा बम भेटियो !

रोल्पा , २३ फागुन । जिल्लाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम भेटिएको छ ।

उक्त बम जुगारस्थित गाउँपालिका कार्यालयको पर्खालदेखि करिब २० मिटर टाढा फेला परेको हो ।

खानेपानीका लागि प्रयोग गरिने प्लास्टिकको पाइप प्रयोग गरि बनाइएको २ वटा बममा रेशम तार समेत जडान गरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईले जानकरी दिए ।

बिहिबार बिहान गाउँपालिकाको कार्यालय भन्दा केहि पर कालो पोलिथिनमा दुईवटा बम फेला परेका सूचना आएपछि बम डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

मंगलबार रातीमात्रै सोहि कार्यालयको पर्खालभित्र राखिएको गाउँपालिका अध्यक्षको गाडी जलाएर धवस्त पारिएको थियो भने रोल्पाकै गंगादेव गाउँपालिकाको गाडीमा समेत आगजनी गरिएको थियो ।