मौलिक तरिकाबाट अतिथि सत्कार

पोखरा, २३ फागुन । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक अतिथि सत्कारबाटै उच्च पहिचान बनाउन सफल भएको छ ।‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो शृङ्खलाका प्रतिस्पर्धीले घान्द्रुक घुमी पोखरा फर्केपछि त्यहाँ ‘कसरी अतिथिको सत्कार गरिन्छ भन्ने कुरा नजिकबाट सिक्न पाएको बताएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको सो स्थान अतिथि सत्कारकै कारण पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था ‘एपीइन्टरटेनमेन्ट’का प्रवन्ध निर्देशक अर्जुन पाण्डेले घान्द्रुकमा पाहुनाको सत्कार गर्ने तरिका सिक्न पाइने भएकाले प्रतिस्पर्धीलाई घान्द्रुक भ्रमण गराइएको बताउनुभयो ।घान्द्रुक पुगेका प्रतिस्पर्धीले जुनसुृकै बेला पनि ‘हस्पिटालिटी’ आवश्यक भएको बताएका र उनीहरूले स्थानीय समुदायसँग निकै रमाइलो गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उक्त शृङ्खलाका अन्तर्गत १८ प्रतिस्पर्धी ‘ग्राण्ड फिनाले’का लागि भिड्दैछन् । आयोजकले प्रतिस्पर्धीलाई बन्द प्रशिक्षणमा राखेर ‘हस्पिटालिटी’का साथै अन्य प्रशिक्षण दिइरहेको छ । त्योबाहेक नेतृत्व र व्यक्तित्व विकासबारे पनि जानकारी गराइने जनाइएको छ । रासस