नयाँ शक्तिका संयोजक भट्टराई भन्छन् – ‘विप्लवको गतिविधिलाई गम्भीरतापूर्वक लिऔं, नत्र देशमा फेरी रक्तपात हुने खतरा बढ्ने छ’

काठमाडौं, २२ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विप्लव समूहको क्रियाकलापलाई बेवास्ता गरे राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् ।

विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्नेतर्फ सचेत गराए ।

‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु’ उनले भने ।

भट्टराईले विप्लव समूहसँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए ।