चीनमा साङ्लाउद्योग बढ्दै, साङ्ला पाल्नुको बहुआयामिक फाइदा यस्ता रहेछन् !

एजेन्सी, २२ फागुन । खेर गएका खानेकुराको सदुपयोग गर्नका लागि चीनमा साङ्ला उद्योग सञ्चालनमा ल्याइएको छ ।

पूर्वी साङदोङ प्रान्तको राजधानी जिनानमा स्याङदोङ कियाओबिन एग्रिकल्चरल टेक्नोलोजी कम्पनीले सञ्चालनमा ल्याएको केन्द्रमा साङ्लालाई किचनबाट खेर जाने दैनिक ५० टन खानेकुरा खुवाइन्छ ।

साङ्ला मरेपछि त्यो घरपालुवा जनावरलाई पौष्टिक आहारका रूपमा खुवाइन्छ । कसै–कसैले त साङ्ला मरेपछि त्यो पेटसम्बन्धी रोगको उपचार र ब्युटी उपचारमा पनि प्रयोग गर्न सकिने बताएका छन् ।

केन्द्रले अर्को वर्ष थप तीनवटा यस्ता उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ । अफ्रिकी स्वाइन फैलिएपछि सुंगुरको खानाका रूपमा खेर गएका खानेकुरा प्रयोग गर्न देशव्यापी प्रतिबन्ध लागेका कारण यस्ता साङ्ला उद्योग बढ्न सहयोग पुगेको बताइएको छ ।

भान्साबाट खेर गएका वस्तुलाई परिवर्तन गर्न र प्रशोधन गर्न साङ्लाहरू बायोेटेक्नोलोजिकल उपाय रहेको स्याङदोङ किरा उद्योग एसोसिएसनका अध्यक्ष लिउ युसेङले बताए । साङ्लाहरू सुँगुरलगायत अन्य घरपालुवा जनावरका लागि प्रोटिनको राम्रो स्रोत पनि रहेको स्याङदोङ कियाओबिनका निर्देशक ली होङ्ईले बताएकी छिन् ।

सिचुआनस्थित एक ग्रामीण क्षेत्रका ली विङ्साईले पनि साङ्ला खेती गरेका छन् । उनले साङ्लामा १० लाख युआन लगानी गरेका छन् । उनले ती साङ्ला सुँगुर फार्म र फिसरी उद्योगमा खानेकुराका रूपमा बिक्री गर्ने गरेका छन् भने औषधि कम्पनीलाई मेडिसिनल सामग्रीका रूपमा उनले साङ्ला बिक्री गर्ने गरेका छन् ।

हाल उनको फार्ममा ३४ लाख साङ्ला रहेका छन् । ‘यस्तो व्यवसाय गर्दा अन्य मानिसलाई अचम्म लाग्न सक्ला, तर यसको आर्थिक मूल्य धेरै छ र मेरो लक्ष्य भनेको गाउँका अन्यलाई पनि समृद्धिको यो बाटोमा डो¥याउनु हो,’ उनले भने । उनको गाउँमा हाल दुईवटा साङ्ला फार्म छन्, जसलाई उनी २० मा पु¥याउन चाहन्छन् ।

साङ्ला मुख तथा पेटसम्बन्धी अल्सर, छालामा भएका घाउ र पेटको क्यान्सरजस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिने अनलाइन टु अफलाइन स्वास्थ्य सेवा दिने कम्पनी गुड डक्टरका साङ्ला विभागका म्यानेजर वेन जियाङ्गओले भने ।

अनुसन्धानकर्ताले साङ्लाको प्रयोग ब्युटी मास्क, डाइट पिल्स र कपाल झर्ने रोगको उपचारमा पनि प्रयोग गर्न सकिनेबारे सोचिरहेका छन् । गुड डक्टरमा पनि साङ्लापालन भइरहेको छ ।