एक साता लामो बहसपछि आज टिकापुर घटनाको फैसला सुनाइँदै

काठमाडौं, २२ फागुन । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको आज फैसला सुनाइदै छ ।

गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको हो ।

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएकाे थियो ।

त्यस्तै प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत भएका थिए ।

चौधरी गतबर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुन् । अहिले चौधरी डिल्लीबजार कारागारमा रहेका छन् ।