दाइजो नलिने केटा पक्षलाई गाउँपालिकाले ५० हजार पुरस्कार दिने

बारा, २१ फागुन । जिल्लाको करैयामाई गाउँपालिकाले दाइजो नलिने केटा पक्षको परिवारलाई ५० हजार नगद दिने व्यवस्था गरेको छ ।

तराईमा ब्याप्त रहेको दाइजो प्रथालाई आफ्नो पालिकामा कम गर्न गाउँपालिकाको कार्यालयले यस्तो व्यस्था गरेको हो ।

नेपाल सरकारले समाजमा रहेका कुरीति विरुद्ध संविधानमा समाजिक अपराध भनेर व्यवस्था गरेपनि स्थानीय निकायमा त्यो कानुन कार्यान्वयन नभएकै कारण समाजमा बालबिवाहका साथै दाईजो प्रथामा कमी नआएको एकल महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी कृष्णा बस्नेतले बताउनुभयो ।

तराईमा वर्षौदेखि जरो गाडेर समाजिक कुरीतीको रुपमा रहेको यस दाइजो प्रथा न्यूनिकरण गर्न गाँउपालिकाले दाइजो नलिने केटा पक्षको परिवारलाई ५० हजार नगद दिने व्यवस्था गरेको हो ।

फागुन १४ गते गाउँपालिकाको विशेष गाउँसभाले दाइजो नलिने केटा पक्षको परिवारलाई प्रोत्साहन स्वरुप नगद ५० हजार दिने निर्णय गरेको र त्यसलाई कार्यपालिको बैठकले पूर्ण रुपमा लागू् गर्ने तैयारी भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर साहले जानकारी दिनुभयो ।

अशिक्षाका कारण समाजमा ब्याप्त रहेको यस प्रथालाई न्यूनिकरण गर्न पालिकाले उच्च शिक्षा हासिल गर्न कक्षा ११ र १२ पढ्ने छात्रालाई साईकल दिने र विद्यालयमा लाग्ने शुल्क समेत मिनहा गर्ने योजना बनाएको छ ।