नेपालमै पहिलोपटक सुरु भयो वाटर एटीएम, यसलाई कसरी प्रयोग गर्ने ? पुरा जानकारी लिनुहोस्
काठमाडौं, २१ फागुन । नेपालमै पहिलोपटक आजबाट वाटर एटीएम सुरु भएको छ ।
खानेपानी मन्त्री बिना मगरले आज मंगलबार ललितपुर महानगरपालिकामा वाटर एटीएमबाट पानी झारेर पिउँदै वाटर एटीएमको उद्घाटन गरेकी हुन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्यमा वाटर एटीएम सुरु गरिएको हो ।
यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।
पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गर्दै लगिने कार्य कारी निर्देशक राणाले बताए ।
वाटर एटीएमलाई नेपालीमा पँधेरो नामकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ ।
उक्त एटीएममा दुई रुपैयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।
वाटर एटीएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।
