घटेन बाल विवाह

– हिक्मत बहादुर नेपाली

दुल्लु, २१ फागुन । कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थे । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थे । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरु यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारहरुमा छ्याप्छ्याप्ती समाचार छापिन्थे, अहिले पनि छापिन्छन्, त्यो प्रक्रिया अझै रोकिएको छैन ।

बाल विवाह रोकियो ? या सानै उमेरमा विवाह गर्नेको सङ्ख्यामा कमी आयो ? होटेलहरुमा गरिने सार्वजनिक कार्यक्रममा मात्र होइन, टोल टोल, गल्ली गल्ली र हरेक चिया पसलमा यसबारे चर्चा हुन्छ आजभोलि । चौध वर्ष पुगेकी बालिकाले विवाह गर्छिन् । विवाह पछि श्रीमान्को बाबुआमाको सहारा बनेकी १४ वर्षे बुहारी (बालिका) १६ वर्ष नपुग्दै आमा बन्छिन् । धेरैजसोलाई प्रसूतिका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । कतिपयले ज्यान समेत गुमाउँछन् । यी सबैका जड बाल विवाह नै हो ।

ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीको तथ्याङ्कले बाल विवाह र २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्यामा कमी आउनुको साटो बढ्दै गएको देखाउँछ । डुङ्गेश्वर गाउँपालिकाको अवलपराजुल स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७४÷७५ मा ६६ जना महिला सुत्केरी भएका रहेछन् । त्यसमध्ये २५ जना सुत्केरी हुने महिला २० वर्षमुनिका थिए । ती १५ देखि २० वर्ष उमेर समूहका हुन् ।

दैलेख अस्पतालमा पुग्दा अवस्था झनै नाजुक अवस्था देखा प¥यो । आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कले जिल्लाभर ५ हजार ४४६ जनाले प्रसूति सेवा लिएको देखाउँछ । तीमध्ये एक हजार ४५९ जना २० वर्षमुनिका रहेको दैलेख अस्पतालका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार बाँकी तीन हजार ९८७ जना महिला २० वर्ष उमेर पुगेका हुन् । बीस वर्षमुनिका १२ जनाले गर्भपतन गराएको देखियो । यस्तै, २० वर्षमाथिका ३३६ जनाले गर्भपतन गराए ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिको तथ्याङ्क पनि उस्तै छ । यो अवधिमा प्रसूति भएका महिलामा ४० प्रतिशत भन्दा बढी कलिला उमेरका किशोरी हुने गरेको खोप अधिकृत रेग्मीले बताउनुभयो । जिल्लाभर दुई वटा अस्पताल, ५६ वटा स्थास्थ्य चौकी, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा सामुदायिक स्वास्थ्य इकाई र ती वटा शहरी स्वास्थ्य क्लिनिक छन् । यी मध्ये अस्पताल बाहेक ५८ वटा प्रसूति केन्द्र दैलेखमा छन् ।

पाँच महिना अघि नारायण नगरपालिका–९ की १५ वर्षीया दिपा शाहीको शल्यक्रियामार्फत प्रसूति गराइयो । गत वर्ष दैलेख पश्चिमको आठबीस नगरपालिकाकी १५ वर्षीया कृष्णा कसेराले बच्चा जन्माउन नसक्दा ज्यान गुमाइन् । आमासँगै नवजात शिशुको पनि मुत्यु भयो । उनले १३ वर्षको उमेरमा विवाह गरेकी थिइन् । यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । यिनीहरुलाई जस्तै जिल्लाका अधिकाँश गर्भवतीलाई बचाउन शल्यक्रिया गराउने गरिएको छ । शल्यक्रिया गरेकाहरुमा प्रायः २० वर्षमुनिका छन् ।

दैैलेख अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार १५ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत आमा बन्ने गरेका छन् । अस्पताल प्रमुख डा निरञ्जन पन्तले उनीहरुमध्ये अधिकाँशको शल्यक्रियाबाट प्रसूति गराइएको जानकारी दिनुभयो । “कलिलै उमेरमा आमा बन्न तयार हुन्छन् तर, बच्चा जन्माउन नसक्दा आमा र शिशुको ज्यान बचाउन शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ,” डा पन्तले भन्नुभयो । तिनीहरु स्वयं स्याहारसुसारमा ध्यान दिन नसक्ने कलिला किशोरीहरु हुन् । केहीलाई गर्भवती अवस्थामा कति पटक जाँच गराउने भन्नेसमेत थाहा नभएको अनुभव उहाँसँग छ । यही कारण मातृ मृत्युदर बढ्ने गरेको हो । कम उमेरमै विवाह गर्नाले उच्च शिक्षा हासिल गर्न असमर्थ हुने, गर्भवती अवस्थामा जटिलता आउने जस्ता समस्या हुने डा पन्त बताउनुहुन्छ ।

दैलेखमा बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्यामा कमी ल्याउन अभियान सञ्चालन नभएका होइनन् । केही अभियान चालु छन्, केही सम्पन्न भए । ती अभियान प्रभावकारी नबन्दा बाल विवाह नघटेको पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीको बुझाइ छ ।