दीपकराज गिरीले बिना लगानी नयाँ सिनेमा बनाउँदै !

काठमाडौं, १७ पुस । कलाकार तथा निर्माता दिपकराज गिरीले फेरी नयाँ चलचित्र बनाउने भएका छन् ।

गिरीले ‘गाजलु’का निर्माता रोहित अधिकारीसंग मिलेर संयुक्त रुपमा अर्को सिनेमा बनाउन लागेका हुन् ।

उनीहरुले बनाउन लागेको नयाँ सिनेमालाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ ।

गिरीले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै अंग्रेजी नयाँ वर्ष २०१९ को शुभकामनासहित निर्देशकमा लामालाई अनुबन्ध गरेको लेखेका छन् ।

निर्देशकसँगै गिरीले आफ्नो पोस्टमा सिनेमाको रिलिज मिति पनि उल्लेख गरेका छन् । पोस्टका अनुसार सिनेमा २०७६ को दशैंमा रिलिज हुनेछ।

सिनेमा निर्देशकको टुङ्गो लागेपनि कलाकार तथा सिनेमाको नामको टुङ्गो लाग्न बाँकी छ ।

लामा निर्देशित ‘गोपी’ सिनेमा माघ १८ मा रिलिजका क्रममा छ ।

सिनेमामा बिना लगानी दीपकराजले मुनाफाको ५० प्रतिशत लिने शर्तमा रोहितसँग उक्त सिनेमामा सहकार्य गर्न तयार भएको बताइन्छ। सिनेमाका लागि उनले पारिश्रमिक पनि लिने छैनन् ।

रोहितको एकल लगानी रहने सिनेमामा पटकथा दीपकराजले लेख्दैछन् । चैत अन्तिम साताबाट सिनेमा फ्लोरमा जाने तयारीमा निर्माण पक्ष रहेको छ ।

कलाकारका रूपमा दीपकराज र केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भइसकेका छन् ।