चोरीको अभियोगमा पक्राउ परि प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका तामाङको अवस्था अझै अज्ञात !

नुवाकोट, १७ पुस । प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका भनिएका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङ अझै फेला परेका छैनन् ।

खोजतलासका लागि खटिएका गोताखोरको टोलीले पनि अझै सम्म उनलाई फेला पार्न नसकेको हो ।

गत पुस ४ गते त्रिशूली नदीमा पसेर बेपत्ता भएका १९ वर्षीय तामाङको खोजीका लागि सोमबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट आएको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वको गोताखोर टोलीले तामाङ नदीमा पसेको स्थान पैरेबेँसीदेखि त्रिशूली जलविद्युत् केन्द्रमा पानी लगेको बाँधस्थल अक्करेसम्म खोजी गरे पनि भेट्टाउन नसकेको नुवाकोट प्रहरीले जनाएको छ ।