संसदीय सुनुवाई समितिले गर्यो चोलेन्द्र शमशेरलाई अनुमोदन

काठमाडौं, १७ पुस । सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा शिफारिस गरिएका चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । यससँगै अब उनको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।

यसअघि आजै संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध प्राप्त उजुरीबारे उनीसँग छलफल गरेको थियो । छलफलको क्रममा उनले आफूले खराब नियत राखेर नियमविपरित काम नगरेको बताएका थिए ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म अर्थात २०८० सालसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

हालका प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले चोलेन्द्रको नाम सिफारिस गरेको थियो ।