पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्यो, एकजना रुखमा अड्किए अर्का बिजुलीको तारमा परेर करेन्ट लागेर भुँइमा बजारिए !

पोखरा, २० फागुन । पोखरामा फेरी अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

अनुमति लिएको भन्दा फरक ठाउँबाट प्याराग्लाइडिङ उडान भरेका दुई विदेशी पर्यटक दुर्घटनामा परेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा भएको दुर्घटनामा परेका एक व्यक्ति पोर्चुगलका नागरिक भएको बताइएको छ । उनको परिचय खुलेको छैन । उनी बिजुलीको तारमा परेर करेन्ट लागि भुइँमा खसेको स्थानीयले बताएका छन् । उनको अवस्था गम्भीर रहेको छ ।

ती विदेशीको बायाँ हात जलेको छ । उनीहरुसहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेको स्थानीयले बताएका छन् । फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए । दुर्घटनामा परेको थाहा पाए लगत्तै ती विदेशीका अर्का एकजना साथी पनि ठाँटीमै ओर्लेको स्थानीय राम गुरुङले बताए ।

त्यस्तै अर्का रसीयन पाइलट पनि मादी गाउँपालिका–७ छाचोकमा खसेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्केका थिए ।

उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेको स्थानीय राम गुरुङले बताए ।

गुरुङका अनुसार स्थानीय छिरखने पाखाको वनमा रहेको भोगटेको रुखमा ग्लाइडर सहित खसेका उनी निकै नै अप्ठेरोमा परेका थिए ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।