थारू समुदायका परम्परागत घर लोप हुने सङ्घारमा

–राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, २० फागुन। काठ र घाँसबाट बनेका कञ्चनपुरका थारू समुदायका चिटिक्क परेका घरहरु लोप हुने सङ्घारमा पुगेका छन् ।

टाढैबाट थारू समुदायलाई चिनाउने घरका ठाउँमा आधुनिक शैलीका पक्की घरहरु निर्माण हुन थालेपछि परम्परागत घर लोप हुने सङ्घारमा पुगेका हुन् । काठ, टायल, भित्तामा लगाइने खरिया घाँस र तलाउको चिम्टाइलो माटोको अभाव हुन थालेपछि परम्परागत घर लोपोन्मुख अवस्थामा पुगेको नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

“थारू समुदायको आर्थिक अवस्थामा आएको सुधारसँगै घरसमेत आधुनिक शैलीका निर्माण हुन थालेका छन्,” चौधरीले भन्नुभयो, “परम्परागत घर बनाउँदा पक्की घरकै हाराहारीमा खर्च लाग्न थालेपछि सबै जनाले पक्की घर नै रोज्न थालेका छन् ।” “पहिले काठ वन क्षेत्रबाट सित्तैमा ल्याउन पाइन्थ्यो । माटो र खरिया घाँसको समेत मूल्य चुकाउनु पर्दैनथ्यो । वनहरु सामुदायिक वनमा परिणत भएपछि घर निर्माण गर्ने सबै सामग्री खरीद गरेर ल्याउनु पर्दा अधिक खर्च गर्नुपर्ने र झन्झटसमेत व्यहोर्नुपर्ने भएकाले परम्परागत घर थारू समुदायले बिर्संदै गएका छन्,” धनिराम चौधरीले भन्नुभयो ।

छानामा लगाउने टायल र खप्टा बनाउने उद्योग नै बन्द भएपछि परम्परागत घरसमेत बन्ने क्रममा निकै कमी आउन थालेको उहाँले बताउनुभयो । बजार क्षेत्र र त्यस आसपासका थारू समुदायले पक्की घर ठड्याइसकेका छन् । ग्रामीण क्षेत्रका बासिन्दासमेत अन्य समुदायको देखासिकीमै पक्की घर बनाउन थालेका छन् । केही ठाउँमा परम्परागत घर जोगाउनका लागि घरवास सञ्चालन गरिएका छन् । परम्परागत शैलीका घर जोगाएर पर्यटकलाई भित्र्याउन सकिने भए पनि त्यो कुरा धेरैलाई थाहा नहँुदा परम्परागत घरको काठ सःमिलमा बेचेर नयाँ पक्की घर बनाउन थालेको रामप्रसाद चौधरीले बताउनुभयो ।

उहाँका अनुसार परम्परागत थारू समुदायका घरमा बरेली, चरुवा, बरियानी, सर्वल, कडी, खावाँ, टायल, बत्ता, खरियाको प्रयोग गरी घर निर्माण हुने गरेका थिए । घरका झ्याल भने माटोका विभिन्न आकृतिले भरिया हुने गरेको उहाँले बताउनुभयो । जसलाई थारू भाषामा ‘मोका’ भन्ने गरिन्छ । थारू समुदायका परम्परागत घरमा भित्र जाने बाटो पिरयानी, पाहुनालाई बस्नका लागि डेहरी, खाना पकाउने बहरी, सुत्ने कोठा कोन्टीलगायत वैज्ञानिक तरिकाले बनाइने गरिन्छ । हावा ओहरदोहर गर्नका लागि डेहरीका दुवैतर्फ ढोका राखिएको हुन्छ । “आगलागी वा अन्य कारणले घरबाट आपत्कालीन अवस्थमा बाहिर जानुपर्ने भए दुई वटै ढोकामध्ये एकलाई प्रयोगमा ल्याउन सकिनेगरी निर्माण गरिन्छ,” आशाराम चौधरीले भन्नुभयो, “भूकम्प आए घरलाई हल्लिन नदिनका लागि सर्वलको व्यवस्था गरिएको हुन्छ ।”

खरिया घाँसको भित्तामा महिलाले चार प्रकारले लिपपोत गर्ने हुँदा घरको भित्तामा सिमेन्ट जत्तिकै टिकाउ नहुने भए पनि बलियो भने त्योभन्दा बढी हुने गरेको उहाँको भनाइ छ । परम्परागत घर निर्माण गर्न १७ दिनदेखि २५ दिनसम्म लाग्ने गर्दछ । “घर निर्माण गर्दा पालैपालो गाउँका सबै जनाले श्रमदान गरी बनाई दिन्थे,” पुरन चौधरीले भन्नुभयो, “हाल सबै जना आ–आफ्नै कार्यमा व्यस्त रहने भएकाले श्रमदान कसैले नगर्ने भएकाले घरमा मजदूर लगाउँदा महँगो पर्ने भएकाले पनि सबैले पक्की घर बनाउनमै ध्यान दिन थालेका छन् ।”रासस