रथयात्रा सम्पन्न

काठमाडौँ, १९ फागुन। योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद् र हनुमान आरधनामण्डल नेपालको संयुक्त पहलमा आज यहाँ महाशिवरात्रीकोे पूर्वसन्ध्यामा दशौँ शिवपार्वती तथा पशुपतिनाथ रथयात्रा सम्पन्न भएको छ ।

हिन्दू सनातन धर्म र मानव धर्मबारे व्यापक प्रचारप्रसार गर्न दर्जनौँ सङ्घसंस्थाको सहयोगमा २५ यातायातका साधन अघि बढाएर रथयात्रा सम्पन्न गरिएको हो । परिषद्का अध्यक्ष शङ्कर पौडेलले बानेश्वरको भीमसेनगोला हुँदै मैतीदेवी, बागबजार, रत्नपार्क, विश्वज्योति, गौशाला हुँदै पशुपति भएर नयाँ बानेश्वरसम्म रथयात्रा गरिएको जानकारी दिनुभयो ।

कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सचीन्द्र थापाले भारतको १२ ज्योर्तिलिङ्ग शिवबारे सम्पूर्ण भक्तजनलाई थाहा भए तापनि नेपालका ६४ ज्योर्तिलिङ्ग शिवबारे कमैलाई मात्र जानकारी भएकाले त्यसको महत्व झल्काउन प्रचारप्रसार गरी रथयात्रा आयोजना गरिएको बताउनुभयो । रासस