नायब निरीक्षक सम्मानित

साँखु, १९ फागुन । समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रशंसनीय कार्यसम्पादन गरेको भन्दै महानगरीय प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द सम्मानित हुनुभएको छ ।

त्रिज्योति मावि कपनले आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले चन्दलाई सम्मान गर्नुभयो । समुदाय प्रहरी साझेदारी विस्तार तथा गठन कार्यक्रम प्रभावकारी भएको बताउँदै मन्त्री थापाले सबै समुदाय, विद्यालय र टोलटोलमा कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउनुभयो ।

‘हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शुरु गरिएको नेपाल प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायमा जारी छ । -रासस