वल्र्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन चैतमा हुने

काठमाडौँ, १९ फागुन । विश्व नेवाः मञ्च (वल्र्ड नेवाः अर्गनाइजेशन) को तेस्रो महाधिवेशन आगामी चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

मञ्चको नेपालस्थित आयोजक समितिले हिजो यहाँ एक पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार यस पटकको महाधिवेशनमा २० भन्दा बढी मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । सहभागीको सङ्ख्या करीब ५०० पुग्ने अनुमान गरिएको छ ।

यस पटकको महाधिवेशनले मञ्चको नयाँ नेतृत्वको पनि चयन गर्नेछ । महाधिवेशनको पछिल्लो दिन विशेष कार्यक्रमसहित विश्व नेवाः दिवश मनाइने भएको छ ।

महाधिवेशनका दौरान नेवाः समुदायले नेपालमा र विदेशी भूमिमा भोग्नुपरेका विभिन्न समस्यामाथि चारबाट समूहगत छलफल हुनेछ भने साँस्कृतिक कार्यक्रम, पदयात्रा, रात्रिभोज, स्मारिका प्रकाशन र दश व्यक्तित्वलाई सम्मान गर्ने काम पनि हुनेछ ।

महाधिवेशनका लागि नेपालमा गठित आयोजक समितिका संयोजक पुष्करभक्त माथेमाले नेवाः समुदायको उत्थानका लागि विश्वभर छरिएर रहेका नेवाःहरुलाई एकै छातामुनि संगठित गर्ने महाधिवेशनको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । विश्वको जुकसुकै भागमा रहेको भए पनि नेवा समुदायले आफ्नो मौलिक परम्परा र संस्कृतिलाई नत्यागेको दाबी गर्नुभयो ।

मञ्चको पहिलो महाधिवेशन बेलायतको लण्डनका सन् २०११ अक्टोबर २९–३१ सम्म र दोस्रो अमेरिकाको बाल्टिमोरमा सन् २०१६ मार्च २५–२७ सम्म भएका थिए । नेवाःहरु विश्वका १०० भन्दा बढी मुलुक पुगेको बताइन्छ । -रासस