बलिवुडका लेजेण्ड अभिनेता कादर खानको आज क्यानाडामा निधन, छोरा सरफराजले गरे पुष्टि

काठमाडौँ । बलिवुडका लेजेण्ड अभिनेता कादर खानको क्यानाडामा निधन भएको छ । ८१ वर्षीय खानको निधनको पुष्टि उनकै छोरा सरफराज खानले गरेका हुन् ।

सरफराजले बिबिसी हिन्दिलाई भने : अब हाम्रो बुबा हामी बीच रहनु भएन । डिसेम्बर २८ देखि स्वासप्रश्वासमा समस्या देखिएपछी उनलाई क्यानाडाको एक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । त्यहि बेला बिभिन्न भारतीय मिडिया र सोसल मिडियामा उनको मृत्यु भयो भन्ने झुटो समाचार पनि भाइरल भएको थियो ।

उक्त गलत समाचार भाइरल भएको थाहा पाएपछि सरफराज खानले खण्डन गर्दै यो समाचार झुट हो बुबाको उपचार भैरहेको भनेर स्पष्ट पारेका थिए ।

कादर खानको स्वास्थ्य लाभको कामना गर्दै बलिवुड अभिनेता अमिताभ बच्चन र अन्य बलिवुड स्टारहरुले ट्वीट गरेका थिए । ८० र ९० को दशक ताका अभिनेता गोविन्दा र अनिल कपुरसंग सबै भन्दा बढी फिल्ममा देखिने गर्थे कादर खान । उनले १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट आफ्नो बलिवुड अभिनय करियर सुरु गरेका थिए ।

करिब ३०० फिल्ममा अभिनय तथा २५० फिल्मको डाइलग लेखिसकेका अभिनेता खान केहि वर्ष अगाडी देखि पार्कीङ्सन रोगको सिकार भएका थिए ।

सन् १९३७ मा अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानको उपचारको क्रममा आज जनवरी १ का दिन क्यानाडाको टोरोन्टोमा निधन भएको हो ।