गैरकानूनीरुपमा अमेरिका पुग्नेहरुको अवस्था अत्यन्तै दुखदायी रहेको अधिवक्ता फुलाराको भनाइ

काठमाडौं, १८ फागुन । नेपालीहरु गैरकानूनी रुपमा ठूलो धनराशी खर्चिएर अमेरिका जाने कुरालाई तत्काल रोक्नुपर्ने अधिवक्ता वासुदेव फुलाराले बताएका छन् ।

आज उपत्यकामा पत्रकार सम्मेलन गर्दै संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता फुलाराले यस्तो बताएका हुन् ।

नेपालीहरु गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेकोले यसलाई तत्काल समाधान गर्न नेपाल सरकार, सरोकारवाला निकाय र सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने,‘गैरकानुनी रुपमा अमेरिका जाँदा ठूलो धनराशी नेपाली दलालमार्फत विदेशीने गरेको छ, यो कार्य रोक्न राज्य गम्भीर हुनुपर्छ । अहिले राज्यले यसबारेमा ध्यान दिएकोजस्तो मलाई लाग्दैन् ।’

ईमिग्रेशन सेक्टरमा कार्यरत अधिवक्ता फुलाराले पछिल्लो समय दलालहरुले खुलमखुल्ला पचासदेखि ६० लाखसम्म ठगेर अमेरिकाको सपना देखाउने गरेको भन्दै त्यस्ता ठगबाट सजग रहन सबैलाई आग्रह समेत गरेका छन् ।

गैरकानुनी रुपमा अन्य मुलुकको सिमाना हुँदै अमेरिका जानेहरुको लागि अमेरिका बसाई अत्यन्तै दुःखदायी रहेको पनि उनले प्रष्ट पारे । उनले गैरकानूनीरुपमा जानेहरुलाई धेरै दुःख रहेको र नेपालबाटै त्यसरी जानेलाई कडा कदम चाल्नु पर्ने बताए ।