साहित्यकार र पत्रकार पुरस्कृत

विराटनगर, १८ फागुन । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट साहित्यकार र पत्रकार आज यहाँ पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा दधीराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार रु ५१ हजार राशिबाट भाषा–साहित्यका शिखर पुरुष प्रा डा माधवप्रसाद पोखरेल र दधिराज सुवेदी पत्रकारिता पुरस्कार रु २५ हजार राशिबाट वरिष्ठ पत्रकार एवं साहित्यकार किशोर नेपाल छन् ।

नेपाली काङ्ग्रेसका केन्द्र्रीय सदस्य अर्जुन नरसिंह केसीले साहित्यले समाजमा सिर्जना गर्नुका साथै एकता पनि बढाउँछ भन्नुभयो । उहाँले समाजलाई सभ्य बनाउन र अग्रगामी बनाउन सञ्चारकर्मी र साहित्यकारको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

पुरस्कृत प्रा डा पोखरेल र वरिष्ठ पत्रकार नेपालले समाजबाट लाभ लिनका लागि नभई समाज र राष्ट्रलाई बलियो बनाउन आफूहरुले काम गरिरहेको चर्चा गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एवं प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको थियो । रासस