संसारकै ठुलो बाइक चढ्ने नेपाली युवा बने अन्दिप, जसको मूल्य सुनेर दुनिया अचम्मित !

काठमाडौं, १६ पुस । इंग्ल्यान्डमा बसोबास गर्ने अन्दिप आचार्य संसारकै सर्वाधिक ठूलो बाइक चढ्ने नेपाली भएका छन् ।

इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले हालै किनेको हार्ले डेभिडसनको भी८ चोपर बाइक इंग्ल्यान्डमै पनि ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपको हुन पुगेको छ । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् ।

अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यो बाइकको मूल्य अनुमान लगाउदा पनि ३ करोड रुपैयाँ भन्दा माथि नै पर्छ ।

हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु अन्दिपको आफैमा गजबको शोख हो ।

हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ । जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’

अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए । हार्लेको सो बाइकमा पछाडिको टायर संसारकै सर्बाधिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो ।

सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी८ चोपर किनेका हुन् । रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो ।

आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् ।विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् । उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् । अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । श्रीमती उनको एक असल साथी पनि हुन् ।