छोरीको स्मृतिमा चौतारी र पोखरी निर्माण

–ध्रुवसागर शर्मा

गलेश्वर, १८ फागुन। म्याग्दीको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नी स्व छोरी पुनम बानियाँको स्मृतिमा आफ्नै लगानीमा वडाभित्रका सार्वजनिक ठाउँमा चौतारी र पोखरी निर्माण गर्नुभएको छ ।

वडावासीका लागि सुविधा र ग्रामीण सम्पदा संरक्षण गर्ने उद्देश्यले बेनी नगरपालिका–६ को छापमा रु एक लाख ५० हजारको लागतमा चौतारी र पोखरी निर्माण गर्नुभएका उहाँले वडाभित्र जिर्ण रहेका चौतारी, विसौना, धारा, कुवा र पोखरीे संरक्षणका लागि वडास्तरबाट पनि संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

छोरीको स्मृतिमा ‘पुनम स्मृति कोष’ नै स्थापना गरेर सामाजिक कार्यमा लाग्नुभएका अध्यक्ष बानियाँँले सोही वडा निवासी भूमिहीन पुष्पा कामीको घर निर्माणका लागि व्यक्तिगतरुपमा रु १० हजार र वडाबाट रू ३० हजार सहयोग उपलब्ध गराउनुभयो ।

नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षमा विजयी भएयताका दुई वर्षमा बानियाँले अपाङ्गता भएका बालबालिका, गरीब, असहायलाई सहयोगदेखि लिएर वडाका सार्वजनिक सम्पत्ति संरक्षण, विकास निर्माण र सेवा प्रवाहमा वडावासीको मन जित्न सफल हुनुभएको स्थानीय बासिन्दाले बताएका छन् ।

आफ्नो क्षेत्रमा रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिकलगायत सम्पदाको संरक्षण गर्नु, जनताप्रति उत्तरदायी भई निष्पक्षरुपमा सेवाप्रवाह गर्नु र भूमिहीनलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको नै भएको बताउनुहुने उहाँले सम्पदा संरक्षणलाई अभियानकै रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

आफ्नै पिसाबबाट पैसा कमाउँदै किसान

शहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् ।

आफूले कल्पनासम्म नगरेको कुराबाट पैसा कमाउन थालेपछि मङ्गला गाउँपालिकाका कृषक दङ्ग परेका छन् । उक्त गाउँपालिकाले सञ्चालन गरेको ‘पिसाबबाट हिसाब’ अभियान प्रभावकारी बन्दै गएपछि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सार्वजनिकस्थल र घरघरका शौचालयमा पिसाब सङ्कलन बैंक स्थापना गरिएको छ ।

त्यहाँ सङ्कलन गरिएको पिसाब तरकारी र फलफूल खेती गर्ने किसानले खरीद गरी खेतबारीमा प्रयोग गर्दै आएका छन् । तरकारी र फलफूलमा पिसाब प्रयोग गर्दा उत्पादनमा दोब्बर वृद्धि हुने भएकाले किसानले खेतबारीमा पिसाब गर्न थालेका हुन् ।

उक्त गाउँपालिकाको कृषि शाखाले छ दिने तालीम दिएपछि अर्मनका कृषक तरकारी खेतीमा पिसाब प्रयोग गरे उत्पादन दोब्बर वृद्धि हुनाका साथै फाइदा पनि दोब्बरै लिन सकिन्छ भन्नेबारे छर्लङ्ग भएपछि यसको प्रयोग गर्न थाल्नुभयो ।

त्यस्तै अर्मनकी याममायाँ श्रीषले पनि तालीमपछि तरकारी खेतीमा पिसाबको प्रयोग गर्न थाल्नुभयो । श्रीषसँगै तालीममा सहभागी लालबहादुर फगामी र भूमिसरा बुढाथोकीले पनि यसैको सिको गर्न थाल्नुभयो ।

पिसाबलाई हिसाबमा बदल्ने अभियानमा सबै वडामा पिसाब सङ्कलन गर्न थालिएको छ । तरकारी खेतीमा मानव मलमूत्र प्रयोगमा आवश्यक प्रयोगात्मक अभ्याससमेत गरेका कृषकले गाउँमै पिसाब बैंक सञ्चालन गर्नेसम्मको योजना बनाएको मङ्गला गाउँपालिका कृषि शाखाका जगत बानियाँले बताउनुभयो । “तालीमले उहाँहरुको सोचमा परिवर्तन आएको छ, पिसाबलाई खेतबारीमा प्रयोगसँगै बिक्रीसम्मको योजना बनाइएको छ”, उहाँले भन्नुभयो ।

तालीममा सहभागी अर्मनका कृषक तथा विद्यार्थीले समेत खेर गइरहेको पिसाब सङ्कलन गर्ने प्रतिबद्धता जनाएका छन् । अर्मनको शिशुकल्याण माविमा फागुन ३ देखि ८ गतेसम्म सञ्चालन भएको तालीममा सहभागीले समाजमा रहेको नकारात्मक सोचलाई तालीमले परिवर्तन गरेको बताएका थिए । बिना लगानीमै प्राङ्गारिक तरकारीको उत्पादन दोब्बर हुने भएकाले पनि आफूले सिकेको सीपलाई लागू गरेरै छोड्ने सामूहिक प्रतिबद्धतासमेत सम्बद्ध किसानले जनाएका गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकालाई प्राङ्गारिक गाउँ बनाउने अभियानमा लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । त्यसका लागि पहिलो चरणमा प्राङ्गारिक मल र मानव मलमूत्रको प्रयोगलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । रासस