बिबिएल : सन्दीपको आज चौथो खेल

काठमाडौं, १७ पुस । नेपाली गूगली ब्वाई सन्दिप लामिछानेले आज चौथो खेल खेल्दैछन् ।

बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दीपले उनको टिम मेलबर्न स्टार्सबाट चौथो खेल खेल्ने भएका हुन् । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए । सन्दीपले आजको खेल कस्तो खेल्छन्, उनका फ्यानहरुमा उत्सुकता छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए । सन्दीपले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ ।