विवेकशील साझाका संयोजक रवीन्द्रविरुद्ध अर्का संयोजक उज्ज्वलले लगाए यस्तो गम्भीर आरोप !

काठमाडौं, १७ पुस । एउटै पार्टीभित्र राजनीतिक मतभेद हुनु कसैको लागि नौलो कुरा होइन । नेपालका ठुला र पुरानो पार्टी देखि लिएर सानो तिनो पार्टीमा पनि यस्ता मतभेद भइरहन्छन् । रबिन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टीमा पनि गम्भीर मतभेद देखिएको समाचार बाहिरिएको छ ।

पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा यस्तो मतभेद देखिएको हो ।

पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन् ।

‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा ‘पार्टी सदस्यका लागि’ पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन् ।

राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दलको नेतृत्व चयन गर्छ । ‘दलको राष्ट्रिय महाधिवेशनको तुरुन्तै घोषणा गर्नु जरुरी छ र तदपश्चात निर्वाचित पादाधिकारीले नै दलको नेतृत्व लिनुपर्छ’, थापाको प्रतिवेदनमा उल्लेख छ, ‘अहिलेको तदर्थ केन्द्रीय/संयोजन समिति र दलका जुझारु सदस्य थपेर महाधिवेशन समितिमा परिणत गरिनुपर्छ ।’

संयोजक थापाको प्रतिवेदनले भन्छ – विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा छ । उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन् ।