‘कृषिलाई व्यावसायीकरण गरिनुपर्ने’

कञ्चनपुर, १७ फागुन । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गरिनुपर्ने बताउनुभएको छ ।

आजदेखि शुक्लाफाँटा नगरपालिका–१० झलारीमा शुरु भएको शुक्लाफाँटा कृषि पर्यटन महोत्सव उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले कृषिलाई यान्त्रीकरण गरी व्यावसायिकतामा जोड दिइने बताउनुभयो । कैलाली र कञ्चनपुर अन्नको भण्डारका रुपमा रहेकाले किसानलाई सिँचाइ, मल, बीउमा अनुदान दिई उत्पादन बढाउनका लागि सघाउने नीति सरकारले अघि सारेको उहाँले बताउनुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा शुक्रबारदेखि कृषि पर्यटन संस्कृति हाम्रो शान,आर्थिक समृद्धि विकासको आधार भन्ने नारा सहित शुरु भएको शुक्लाफाँटा कृषि पर्यटन महोत्सव उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी उद्घाटन गर्नु हुँदै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रदेशसभा सदस्य महेशदत्त जोशीले कृषि क्षेत्रको विकासबाट मात्रै समृद्धि ल्याउन सकिने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य लालबहादुर खड्काले कृषिलाई पर्यटनसँग समेत जोडेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले शुक्लाफाँटामा मणिका धाम, बैजनाथ धाम, कृष्णसार संरक्षित क्षेत्र, तारा ताल, कमलफुले ताल, सुनदेवी ताल लगायतका पर्यटकीय सम्भावना रहेका क्षेत्रको चर्चा गर्दै पर्यटन प्रवर्दनका लागि योजनाबद्ध रुपमा विकासका कार्य अगाडि बढाइएको बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन, तरकारी, थारू समुदायको मौलिक परिकार, हस्तकलाका सामग्री, पर्यटकीय क्षेत्रबारे जानकारी दिने कक्षसँगै व्यापारिक प्रयोजनका कक्ष राखिएका छन् । मेला यही फागुन २६ गतेसम्म सञ्चालन हुनेछ । रासस