‘बी’ डिभिजन लिग : भगवतीले सातदोबोलाई हरायो

काठमाडौँ, १७ फागुन। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे । उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे ।

यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे । दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे । जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ । चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ । रासस