मिर्गाैला पीडित दीपक शिवा बचाऊ अभियानमा रकम जुट्दै


फिक्कल, ६ फागुन। मिर्गाैला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा रकम जुट्ने क्रम जारी छ । देउमाई नगरपालिका मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो ।
क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गाैलाले काम गर्न छोडेपछि उहाँ अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि शुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ ।

दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन भट्टराईले रु दुई लाख १२ हजार ९००जम्मा गर्नुभएको छ । उक्त क्लबले देश तथा विदेशमा रहनुभएका अन्य सहयोगीबाट रु थप एक लाख ७१ हजार ८०५ सङ्कलन गरेको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले रकम जुट्ने क्रम जारी रहेको बताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके बढी रकम जुट्ने अपेक्षा गर्नुभयो । विसं २०४३ मा जन्मिनु भएका शिवा कुशल खेलाडी तथा मङ्गलबारे बजारका युवा व्यवसायी हुनुहुन्छ । उहाँले तीन महीना अघिदेखि उपचार गर्न थाल्नुभएको थियो । रासस ।

प्रतिक्रिया दिनुहोस
Advertisement