मोरङका ट्राफिक प्रहरीले टिपरलाई टाइम कार्ड लागु गर्दै, तोकिएको समयभन्दा अगावै पुगे जरिवाना गरिने


विराटनगर, ६ फागुन । टिपरको गतिले बजार क्षेत्रमा आतंक मच्चाएपछि मोरङ प्रहरीले टाइम कार्ड लागू गर्ने तयारी गरेको छ ।

प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिवन्ध छ । त्यसबाहेक मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।

प्रहरीले तयार पारेको कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिने छ । कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

उनले व्यवसायीसँगको छलफलपछि ट्राफिक प्रहरीले दूरी अनुसारको समय निर्धारण गर्ने बताए ।

प्रहरी निरीक्षक पोखरेलका अनुसार, कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा छुटेको समय र पुग्नु पर्ने समय लेखिदिएका हुन्छन् । कागजमा लेखिएको समय अर्काे स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । म्यासेज र कार्डमा लेखिएको समयभन्दा छिटो पुगे ड्युटीमा खटेका प्रहरीले जरिवाना गर्नेछन् । ‘दूरी अनुसार पुग्नुपर्ने गरी समय सीमा निर्धारण हुन्छ’, पोखरेलले भने, ‘समय सीमाभन्दा अघि पुगे जरिवाना गर्छाैं ।’

टिपर व्यवसायीले टिपका आधारमा ड्राइभरलाई भत्ता दिँदै आएका छन् । छिटो टिप लगाउने लोभमा ड्राइभरले तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement