अकस्मात राष्ट्रपति भण्डारीले शिर्ष नेताहरुलाई शीतल निवास किन डाकिन् ?
काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता शीतल निवास पुगेका हुन् ।
साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन् ।
राष्ट्रपतिको निमन्त्रणामा सभापति देउवा शीतल निवासमा गएको उनका सहयोगी भानु देउवाले बताए । ‘राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ’, उनले भने ।
यता बालुवाटार स्रोतले समेत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताएको छ । राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले छलफलका विषय खुलाउन चाहेनन् ।