सत्यतामा रहेर समाचार लेख्न मुख्यमन्त्रीको अनुरोध
हेटौँडा, ५ फागुन। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम भएकाले सत्यतामा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी मकवानपुर र प्रेस सेन्टर मकवानपुरद्वारा आज हेटौँडामा आयोजित बृहत् पत्रकार भेटघाट कार्यक्रममा उहाँले कतिपय पत्रकारले असत्य समाचार लेखेर सरकारको विरोध मात्रै धेरै गर्न थालेको भन्दै यसबाट सच्चिनुपर्ने धारणा राख्नुभयो ।
फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा भ्रष्टाचार गर्न पाइँदैन भनेर कर्मचारी आउन नमानेको भन्ने कुरा सुनेकाले प्रदेश ३ मा भ्रष्टाचार हुन्न भन्ने कुरा देशैभर फैलिएकाले आफूलाई गर्व लागेको बताउनुभयो । त्यस्ता कर्मचारीहरु आउन नमाने पनि प्रदेश सरकार आफ्नो योजनाबाट पछि हट्दैन उहाँले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ का मुख्यमन्त्री नै अत्यन्तै मितव्ययी रहेको तथा सबै मन्त्रीहरु पनि असल आचरणको भएको ठोकुवा गर्दै कतिपय पत्रकारले प्रदेश सरकारविरुद्ध गलत समाचार दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले कुनै पनि गलत र विवादित काम नगरेको र नगर्ने बताउँदै प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीहरु लगायतको सरल जीवनशैली एवं व्यवहारका कारण प्रदेश सरकारले कुनै विवादित काम नगरेको बताउनुभयो ।
अर्थ, मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागि तयार रहेको भन्दै पत्रकारहरुको क्षमता वृद्धि गर्न वा पत्रकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।रासस