चोरी आरोपमा अभियुक्त पक्राउपछि सार्वजनिक
भक्तपुर, ५ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न अपराधमा संलग्न रहेकालाई सार्वजनिक गरेको छ । परिसरमा आज पत्रकार सम्मेलन गरी भक्तपुर नगरपालिका–९ च्याम्हासिंह चोकमा गए राति चोरी गरी ल्याइएका काठ र काठ बोक्ने बा ४ ख ३५९३ नंको निशान ट्रकसहित चोरीमा संलग्न व्यक्ति र चोरीका काठ किन्ने व्यापारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप गेलु गाउँपालिका–११ अमभोटे घर भई हाल काठमाडौँ जडीबुटीमा बस्ने १९ वर्षीय राजन नेपाली, रामेछाप गेलु गाउँपालिका–१ साउने घर भई हाल भक्तपुर सूर्यविनायक–६ बस्ने २४ वर्षीय मोहनलाल तामाङ, रौतहट राजदेवी नगरपालिका–८ लक्ष्मीपुर घर भई हाल सूर्यविनायक–३ बालकोट जयमा दुर्गा काठ फर्निचर सञ्चालक २८ वर्षीय रामविनय ठाकुर, सूर्यविनायक नगरपालिका–२ बालकोटका श्रीराम काठ फर्निचर सञ्चालक ४३ वर्षीय हरिगोविन्द श्रेष्ठ रहेका छन् ।
प्रहरीले विभिन्न काठ उद्योगबाट ४४ थान (३७.४४८ क्यु फिट) सालको चिरान काठ बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी स्कुटरको प्रयोग गरी दुई जनाले गत २९ गते एकै दिन बिहान र दिउँसो सूर्यविनायकमा तथा अपराह्न भनपा–९ लिवालीमा पैदल हिँड्दै गरेका महिलाको हाते झोला लुट्ने गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । महानगरीय प्रहरी प्रभाग कटुञ्जेबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घटनामा संलग्न काभ्रे तिमाल गाउँपालिका–९ बस्ने १९ वर्षीय देव तामाङ भन्ने अविरल तामाङलाई पक्राउ गरेको र घटनामा संलग्न दुईको खोजी कार्य जारी राख्दै अनुसन्धान अगाडि बढाएको प्रउ श्रेष्ठले बताउनुभयो ।
त्यस्तै काभ्रे पनौती नगरपालिका–१० का ३२ वर्षीय चालक अजय परियार, सहचालक १९ वर्षीय रमेश परियार, मकवानपुर बागमती गापा–६ घर हुने २५ वर्षीय रमेश दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । फरार दुई जनाको खोजी जारी राखी अनुसन्धान अगाडि बढाएको प्रउ श्रेष्ठले जानकारी दिनुभयो । रासस