कटानको मागरमा महतनिया


घोराही, ५ फागुन । दाङको देउखुरी उपत्यकाको निकै विकट दक्षिणी भेगमा पर्ने राजपुर गाउँपालिका–५ महतनिया गाउँ चुरे कटानको मारमा परेको छ । सरकारले चुरे क्षेत्र संरक्षणका लागि गुरुयोजना र नीति बनाएर चुरे क्षेत्रमा बस्ने नागरिकको जीवनस्तर उकास्नेलगायत चुरे क्षेत्रको दिगो व्यवस्थापनका लागि समयमै बजेट विनियोजन नहुँदा राजपुरको महतनिया खोला आसपासका ८२ घर भने चुरे कटानको मारमा परेका हुन् ।

समयमा संरक्षण हुन नसक्दा महतनिया खोलाको शिरमा पर्ने आधा दर्जन गाउँ कटानको मारमा परेको त्यहाँका अगुवा दलबहादुर गिरीले बताउनुभयो । उहाँका अनुसार त्यहाँको गाउँ भएर बग्ने महतनिया खोलाले त्यहाँका खेतीयोग्य जमीन, विद्यालय, सार्वजनिकस्थल र सामुदायिक वनको धेरै भूभाग कटान गरेको छ । त्यहाँको झुप्पा सामुदायिक वनकी सचिव गङ्गा केसीका अनुसार महतनिया खोलाले सामुदायिक वनको करीब एक सय बिगाहा, स्थानीय व्यक्तिको करीब ८० बिगाहा खेतीयोग्य जमीन र स्थानीय जनज्योति प्राथमिक विद्यालयको जग्गासमेत कटान गरेको छ ।

“बलौटे पहाड छ, नदी भासिँदै छ गाउँका बस्ती पनि पहिरोले लैजाने जोखिम बढेको छ,” सामुदायिक वनकी सचिव केसीले भन्नुभयो, “त्यहाँको माझ गाउँ, कुश्मा टोल, दक्षिण टोल, चमारे भिर सबै खोलाले बगाउन थालेको छ ।” विशेषगरी मगर, दलित र थारूहरुको बस्ती रहेको त्यस क्षेत्रमा सरकारका प्रतिनिधि र स्थानीयवासीको सहभागितामा त्यहाँको जमीन संरक्षणका लागि २० वर्षे गुरुयोजना बनाएर काम थाल्ने सहमति भए पनि त्यहाँ आएको बजेट अन्यत्र लगाउँदा गुरुयोजना अनुसारको काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

त्यहाँका स्थानीयवासी रेकबहादुर बुढाका अनुसार जिल्ला भूसंरक्षण कार्यालयले २०६७÷६८ देखि त्यहाँका स्थानीय बासिन्दाको सहभागितामा त्यस क्षेत्रको नदी कटान, पानी संरक्षणमा केही काम भए पनि पछिल्लो समय त्यस क्षेत्रका लागि भनेर सरकारले छुट्याएको दुइ करोड ५० लाख बजेट अन्यत्र खर्च भएको उहाँले बताउनभुयो । “आव २०७५÷७६ मा महतनिया खोलाको माथिल्लो तटीय क्षेत्रमा नदी तटबन्ध, गल्छी, पहिरो रोकथाम, वृक्षरोपण, पानीको मुहान संरक्षण लगायतका लागि भनेर बजेट आएको थियो,” उहाँले भन्नुभयो, “जिल्लाको संवेदनशील चुरे संरक्षणका लागि भनेर राजपुर गाउँपालिकामा अर्थ मन्त्रालयबाट स्वीकृत भई गाउँपालिकामा बजेट पनि आयो तर हामीले पाएनौँ ।”

उक्त बजेट माथिल्लो तटीय क्षेत्रमा बस्ने प्रभावितलाई सरोकार नै नराखी भेदभावपूर्ण तरिकाले तल्लो तटीय क्षेत्रमा लगाएको भन्दै उनीहरु आक्रोशित भएका छन् । तर राजपुर गाउँपालिकाका अध्यक्ष रामप्रसाद शर्मा राष्ट्रपति संरक्षण कार्यालयबाट ससर्ततर्फ खोल्सासाल्सी र खहरे खोला व्यवस्थापनका लागि गाउँपालिकालाई रु ८० लाख आएको र उक्त बजेट त्यस क्षेत्रभन्दा पनि जोखिममा रहेका अन्य क्षेत्रमा लगाइएको जानकारी दिनुभयो ।

“राजपुर गाउँपालिकामा महतनिया खोलाभन्दा पनि अरू धेरै जोखिम क्षेत्र छन् । हामीले त्यहाँ बजेट लगाएका छौँ,” उहाँले भन्नुभयो, “महतनियामा पनि आगामी वर्ष बजेट पार्ने सोच बनाएका छौँ ।” गाउँपालिका अध्यक्ष शर्माले स्थानीयवासीलाई यस वर्ष नआत्तिन अनुरोध गर्दै आगामी दिनमा बजेट दिएर खोला व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement