सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ : माथेमा
काठमाडौँ, ५ फागुन। शिक्षाविद् केदारभक्त माथेमा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताउनुभएको छ ।
शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले हो भन्नुभयो । उहाँले भन्नुभयो, “हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामुदायिक विद्यालयलाई पूर्ण संरक्षण दिनुपर्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एउटै ढाँचाको सिकाइबाट नभई विविध प्रयोगका माध्यमबाट शैक्षिक रुपान्तरण सफल हुने भन्दै निःशुल्क शिक्षाको कार्यान्वयनका लागि वैकल्पिक स्रोतको खोजी गर्न सरकार लागिपरेको जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयमा दरबन्दी व्यवस्थापन असन्तुलित हुनुमा बिना नक्साङ्कन र योजनाबिना विद्यालय स्वीकृति दिने विगतको अभ्यास बाधक रहेको टिप्पणी गर्दै स्रोतको सुनिश्चितता नभएसम्म विद्यालयको स्तरोन्नतिको सिफारिश नगर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले विधागत पत्रकारिता खोजमूलक रिपोर्टिङमा जान सकेमा समाजमा रुपान्तरण हुने जनाउनुभयो । शिक्षाविद् डा सुशन आचार्यले पूर्वप्रथामिक र आधारभूत तहको जग बलियो नभएसम्म माध्यमिक र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर वृद्धि हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बालमैत्री वातावरणमार्फत आफ्नो विद्यालयको सुधारमा नेतृत्व गर्ने काठमाडौँको पञ्चकन्या आधारभूत विद्यालयका प्रअ विनिता रञ्जित र सिरहाको जनता आधारभूत विद्यालयका प्रअ देवकुमार महतोलाई सम्मान गरियो । सम्मानित रञ्जितले ५ वर्षभित्र विद्यालयलाई नमूना बनाइने लक्ष्यअन्तर्गत हाल स्मार्ट कक्षाको थालनी गरिएको बताउनुभयो । अर्का सम्मानित महतोले स्थानीय पाठ्यक्रम तयारी र बाल पुस्तकालय निर्माण गरेर बालबालिकालाई शिक्षा दिइएको जनाउनुभयो ।
समूहका अध्यक्ष रोश्ना सुब्बाले शिक्षा पत्रकारहरु कक्षाकोठाको रिपोर्टिङ गर्न उन्मुख भएको बताउनुभयो । समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले नेपालमा समूहको स्थापनासँगै मूलधारका सञ्चारमाध्यममा शिक्षा पत्रकारिताको जग बसेकाले संस्था थप सक्रिय हुने अपेक्षा व्यक्त गर्नुभयो । रासस