पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गितबारे निर्णय गर्न लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले बोलाए आकस्मिक बैठक !
काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’बारे उठेका टिक्का टिप्पणीलाई सल्टाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आकस्मिक बैठक डाकिएको छ ।
चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दुईदिन अघिमात्र युट्युबमा अपलोड गरेको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट..’ बोलको गित दर्शकमाझ लोकप्रिय बन्न सफल भएपनि विवादित भएपछि यसबारे निर्णय लिन प्रतिष्ठानको आकस्मिक बैठक बोलाईएको हो ।
वर्तमान सरकारको कडा आलोचना गरिएको उक्त गितका विषयमा सत्तारुढ नेकपाको भ्रातृ संगठन, युवा संघले विज्ञप्ति नै निकालेर विरोध गरेपछि प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका शर्माले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै गीत हटाएको जनाएका थिए । उनले गीतलाई संशोधन गरेर चाँडै ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पशुपती शर्माको उक्त गितले सामाजिक संजालसहित नेपाली राजनीतिलाई समेत तरंगित बनाएपछि उनको पक्ष र विपक्षमा तर्कहरु आईरहेको अवस्थामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक बद्रि पंगेनीले आकस्मिक बैठक बोलाइएको जानकरी गराऊँदै सबैलाई धैर्य गर्न आग्रह गरेका छन् ।
बैठक केहि घण्टा अगाडीनै बसेर शर्माको उक्त गितबारे निर्णय लिने बताएपनि अहिलेसम्म कुनै जानकरी बाहिरिएको छैन ।